खुकुरी प्रहारबाट श्रीमानको मृत्यु, श्रीमती घाइते

खोटाङ, जेठ २५ । खोटाङमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन् ।

आइतबार खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट ६५ वर्षीय डिल्लीराज राईको मृत्यु भएको हो भने ६२ वर्षीया सममाया राई घाइते भएकी छन् । डिल्लीराज र सममाया श्रीमान–श्रीमती हुन् ।

आज बिहान पौने ९ बजेको समयमा स्थानीय ३६ वर्षीय शुभराज राईले सोही स्थान बस्ने डिल्लीराज र उनकी श्रीमती सममायामाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त भएसँगै प्रहरी चौकी खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई घाइते अवस्थामा फेला पारेको थियो ।

घाइते दुवै जनालाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यसैगरी घाइते सममायालाई कैलाश एयरको हेलिकोप्टरद्वारा काठमाण्डौ पठाइएको छ भने खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *